काठमाडौं– इच्छाराज तामाङको मुद्दामा न्यायाधीशलाई घुस खुवाउने अडिओ प्रकरणमा संलग्न वकिल रुद्र पोखरेलले आफैंलाई निलम्बन गरेको स्वघोषणा गरेका छन्।
अडिओ सार्वजनिक भएसँगै उनले आफ्रू यस किसिमको वार्तामा संलग्न नभएको भन्दै छानबिन नसकिँदासम्मका लागि नेपाल बार एशोसियसनको सदस्यबाट आफैंलाई निलम्बन गरेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत् उनले आफू यस प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्।
उनले भनेका छन्, ‘हालै सार्वजनिक भएको अडिओको छानबिन होस्। यस किसिमको वार्तामा म संलग्न छैन। नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र पर्याप्त सहयोग गर्न तयार छु। हालललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुनेगरी मैले स्वयं सदस्यता स्थगन गरेको छु।’
उनले छानबिन नसकिँदासम्म आफू कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस र पैरवी तथा परामर्शमा सहभागी नहुनेगरी आफूलाई निलम्बन गरेको घोषणा गरेका छन्। साथै उनले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै कानुनी उपचारको खोजीमा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘म उपर भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा छु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।