काठमाडौं– नेपाल बार एसोसिएसनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र प्रसाद पोखरेलबीच १० करोड रुपैयाँको 'घुस डिल' भएको भनिएको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेको छ।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको भनिएको अडियोको वास्तविकता पनि छानबिन गरिनुपर्ने बारले उल्लेख गरेको छ।
'नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरुको नेपाल बार एसोसिएशन घोर निन्दा गर्दछ,' बार एसोसिएसनका महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अतः उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्य-तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसिएसन सम्बन्धित नियमनकारी निकायहरुसँग जोडदार माग गर्दछ।'

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।
कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथि (प्रधानन्यायाधीश राणा)बाटै मिलाउन सकिने बताएका छन्। प्रधानन्यायाधीश राणाले १ नम्बर (जिल्ला अदालतका प्रमुख न्यायाधीश)लाई अह्राउने र त्यसको सबै चाँजोपाँजो आफूले मिलाउने पोखरेलले कोइरालालाई आश्वासन दिएको अडियोमा सुनिन्छ।
इच्छाराजलाई १० करोड धरौटीमा छाड्दा आफूहरुले २ करोड रुपैयाँ जति लिन सकिने विषयमा उनीहरुबीच कुराकानी भएको अडियोमा सुनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।