काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र प्रसाद पोखरेलबीच १० करोड रुपैयाँको 'घुस डिल' भएको भनिएको अडियोमा नाम उल्लेख भएका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले 'घुस डिल' प्रकरणमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्।
'घुस डिल' भएको भनिएको टेलिफोन अडियो वास्तविक हो भने दुई जनाको टेलिफोन कसले ट्यापिङ गरेको हो भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने उनको भनाइ छ। 'यदि यो टेलिफोन अडियो वास्तविक हो भने, टेलिफोन ट्यापिङ कसले गर्यो, के सरकारले वा अरु कसले क–कसको सम्वाद ट्यापिङ गर्दै छ?' बडालको प्रश्न छ।
उनले अर्को प्रश्न पनि गरेका छन्, 'न्यायालयमा कुन हदसम्म न्यायिक विचलन र लेनदेन हुन्छ? यसमा को कसरी संलग्न छ?'
यदि टेलिफोन सम्वाद वास्तविक होइन भने यस्तो कार्यमा को, किन संलग्न छ भनेर छानबिन हुनुपर्ने बडालको भनाइ छ।
'यो विषयमा गम्भीरताका साथ छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ। र दोषीलाई कानुनसम्मत कारबाही हुनुपर्दछ,' सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बडालले भनेका छन्।

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो।
न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।
कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथि (प्रधानन्यायाधीश राणा)बाटै मिलाउन सकिने बताएका छन्। प्रधानन्यायाधीश राणाले १ नम्बर (जिल्ला अदालतका प्रमुख न्यायाधीश)लाई अह्राउने र त्यसको सबै चाँजोपाँजो आफूले मिलाउने पोखरेलले कोइरालालाई आश्वासन दिएको अडियोमा सुनिन्छ।
इच्छाराजलाई १० करोड धरौटीमा छाड्दा आफूहरुले २ करोड रुपैयाँ जति लिन सकिने विषयमा उनीहरुबीच कुराकानी हुन्छ।
उक्त कुराकानीको एक अंशमा बडालको पनि प्रसंग छ। पोखरेलसँगको वार्तामा न्यायाधीश कोइरालाले जाहेरवाला (तामाङविरुद्ध जाहेरी दिनेहरु)को तर्फबाट केशव 'बराल' कि को कानुन व्यवसायीले बहस गर्ने भनेर सोध्छन्।
जवाफमा पोखरेलले 'रमेश बडाल' भन्छन्। त्यसपछि न्यायाधीश कोइराला भन्छन्, 'रमेश बडाल बहस गर्न आउने रे। उनलाई ल्याएका छन्। यसैले गर्दा…।'
फेरि अधिवक्ता पोखरेल भन्छन्, 'ठिक छ। ठिक छ। बहस गर्न त पाइयो त हजुर।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।