काठमाडौं- न्यूरोड टोली (एनआरटी)ले मलेसियामा हुने टुवान याङ टेरूतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताका लागि आफ्नो तीन विदेशी खेलाडीलाई निरन्तरता दिएको छ।
‘ए’ डिभिजन लिग र मोफसलका केही गोल्डकप खेलेर स्वदेश फर्किएका स्टेफन समिर विनोङ, मेसुके ओलुमोउ र आन्द्रे थिएरी वियक वियकलाई एनआरटीले टीवाईटी कपको लागि फिर्ता बोलाएको हो। उनीहरू बुधबार बिहान नेपाल आइपुगेको क्लबले जनाएको छ।
स्टेफन र मेसुके फरवार्ड हुन्। वियक डिफेन्डर हुन्। पेनाङ सहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा टीवाईटी कप हुन लागेको हो।
२८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगिताको लागि एनआरटीले गत सातादेखि प्रशिक्षण सुरू गरिसकेको छ। प्रतियोगिताको लागि यसपटक केही नयाँ खेलाडी टोलीमा हुनेछ।
नेपालबाट एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा संसद केसीले प्रतिस्पर्धा गर्नेछन्।
पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ भने उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ।
एनआरटीले हालसम्म पाँचपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ। गत फागुनमा सम्पन्न लिगमा एनआरटी तेस्रो भएर सिजनको अन्त्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।