काठमाडौं– एक वर्षदेखिको पारिश्रमिक नदिएपछि रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार आन्दोलनमा उत्रिएका छन्।
पटक–पटक पारिश्रमिक उपलब्ध गराइदिन अनुरोध गर्दा पनि व्यवस्थापनले माग सुनुवाइ नगरेको भन्दै पत्रकारले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन्।
श्रमजीवी पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा पत्रकार महासंघ र अन्य प्रेस संगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन्।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाद्वारा सञ्चालित रेडियोले एक वर्षदेखि ६ जना पत्रकारलाई पारिश्रमिक उपलब्ध गराएको छैन।
मंगलबार पहिलो चरणको आन्दोलन स्वरुप विरोध र्याली निकालिएको छ। नगरपालिकाको राडीबजारदेखि पत्रकारले र्याली निकालेका हुन्। पीडित पत्रकारहरूले आफ्रूहरुले एक वर्षदेखिको पारिश्रमिक नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेका छन्।
साथै मंगलबार नै नगरपालिका प्रमुख रवि केसीलाई पनि समस्या समाधानका लागि अनुरोध गरिएको संघर्ष समितिका संयोजक सत्य बटालाले जानकारी दिए।
नगरप्रमुख केसीले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणको आन्दोलन अन्तर्गत असार ९ गते सामाजिक सञ्जालमार्फत् रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नाराबाजीको कार्यक्रम रहेको संयोजक बटालाले जानकारी दिए। त्यति गर्दा पनि माग पूरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।
६ जना पत्रकारको एक वर्षदेखिको करिब १० लाख पारिश्रमिक पाउन बाँकी रहेको बटालाले बताए। संघले गत महिना बाँकी बक्यौता भुक्तानी गर्न पत्रमार्फत ध्यानाकर्षण गराएको थियो।
व्वस्थापक मानबहादुर चदाराले संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीलाई बाँकी रहेको पारिश्रमिक नदिने भन्दै धम्काएपछि गत शुक्रबार ३ दिनको अल्टिमेटमसहित पुनः ध्यानाकर्षण गराएको थियो। पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभए दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने संघका अध्यक्ष जैसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।