काठमाडौं– पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ।
मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता सेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से परिसूचक वृद्धि भए पनि मंगलबार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
मंगलबार ३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।