काठमाडौं– टोखा नगरपालिका–१ मालुङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जेठ ४ गते मालुङस्थित निर्माणाधीन घरको कम्पाउण्डभित्र पाँचथरको याङ्वारख गाउँपालिका–२ का २२ वर्षीय दीपेन लिम्बुको हत्या भएको थियो। उनी सो घर निर्माणकाे काम गर्दै आएका थिए।
हत्या आरोपमा पाँचथरकै पाटिगाउँ गाउँपालिका–१ का ४० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। उनी पनि सोही घरमा काम गर्दै आएका थिए।
खगेन्द्र र दीपेनबीच विवाद हुँदा खगेन्द्रले काठको चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। चिर्पट प्रहारबाट दीपेन गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
पक्राउ परेका खगेन्द्रलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।