काठमाडौं– काठमाडौंमा हैजाका बिरामी भेटिएपछि सरकारले पानी उमालेर पिउन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। काठमाडौंमा २ जनामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।
असार २ गते झाडापखालाको लक्षण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका २ जनामा हैजा रोगको जीवाणु भेटिएको थियो।
हैजा देखिनेमा १८ र २३ वर्षीय व्यक्तिहरु रहेका छन्। काठमाडौंको बागबजारमा बसोबास गर्दै आइरहेका उनीहरु दुवैजना एकै परिवारका सदस्य हुन्।
उनीहरु दुवैको उपचार टेकुस्थित अस्पतालमै भइरहेको छ। काठमाडौंमा हैजा देखिएपछि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको छ।
मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेरको छ।
मन्त्रालयले सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बेलाबेलामा हात सफा गर्न, खानेकुराको सरसफाइ गर्न र खुला रुपमा दिसापिसाब नगर्न अनुरोध गरेरको छ। शौचालयको प्रयोग पछि अनिवार्य साबुन पानीले हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।