काठमाडौं– आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ। यसै सिलसिला अन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि योग कक्षाहरु सञ्चालन गर्दैछ।
आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रहरूमा पनि योग महोत्सव आयोजना गर्दैछ, जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समूहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन सक्छन्। असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका १०० भन्दा बढी व्यक्तिले योग गरेका थिए।
यो योग श्रृङ्खला महादेवथान, मातातीर्थ, स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौंका अन्य विभिन्न स्थानहरुमा सञ्चालन गरिएको थियो। सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरू लगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्त्व झल्काउनका लागि मानिसहरु सहभागी हुँदै आएका छन्। त्यसैगरी आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि पनि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ।
आर्ट अफ लिभिङ नेपालका योग गुरुहरुले काठमाडौं उपत्यका बाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापा लगायतका स्थानहरुमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएका छन्। आर्ट अफ लिभिङ नेपालकी योगा कोअर्डिनेटर रिया थापाको संयोजकत्वमा यी योग कक्षाहरु संचालन भइरहेका छन्।
मानव स्वास्थ्य र खुशीमा केन्द्रित आर्ट अफ लिभिङ नेपालको यो वर्षको योग दिवसको थिम 'मानवताका लागि योग' रहेको छ। कार्यक्रमको अन्त्यमा साँझको सत्संग र आर्ट अफ लिभिङका संस्थापक, आध्यात्मिक गुरु एवम मानवतावादका प्रवर्तक् रवि शंकरद्वारा पतञ्जली योगको बारेमा प्रवचन पनि सुनाउने कार्यक्रम रहेको छ।
यसको मुख्य कार्यक्रम जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बिहान ६ : ३० बजे वर्ल्ड ट्रेड सेन्टरको डिइसीसी हलमा हुँदैछ जहाँ आर्ट अफ लिभिङ काठमाडौंको सम्पूर्ण परिवार सहभागी हुनेछ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।