तनहुँ-तनहुँकाे भानु नगरपालिका-८ कुडुलेफाँटनजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आइतबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो। खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।
अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको बन्दिपुर–५ याम्पामा पहिराे खस्दा अवरुद्ध भएको राजमार्ग पुनःसञ्चालनमा आएको छ। पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो।
पहिराे पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिए। उक्त सडकखण्डमा समय समयमा पहिराे खसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।