काठमाडौं– बलात्कार मुद्दा हेरिरहेकी सरकारी वलिकललाई कुनै प्रकारको दबाब नदिएको महान्यायधिवक्ताको कार्यालयले स्पष्ट पारेको छ।
यसअघि नेपाल लाइभमा बलात्कार मुद्दा हेरिरहेकी सरकारी वकिललाई मुद्दा कमजोर बनाउन दबाब दिँदै मुख्य न्यायाधिवक्ताको कार्यालयले सहन्यायाधीवक्ता संगीता श्रेष्ठ थोकरलाई सरुवा गरिएको समाचार प्रकाशित भएको थियो।
आइतबार एक विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दाका विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएको र संसद्मा समेत प्रश्न उठेकाले त्यसप्रति ध्यानाकर्षण भएको बताएको छ।
ललितपुर जिल्ला अदालतमा विचाराधीन उक्त मुद्दाका प्रतिवादी सुशील चटौतलाई बचाउन सरकारी वकिल कार्यालयकी सहन्यायाधिवक्ता थोकरलाई सरुवा गरिएको भन्ने कुराको महान्यायाधिवक्ताको कार्यालयले खण्डन गरेको छ।
अदालती प्रक्रियामा विचाराधीन रहेको मुद्दाका विषयमा कसैले पनि अनावश्यक टिप्पणी गर्न उपयुक्त नहुने भन्दै यस विषयमा छानबिन समिति गठन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
मुद्दाका विषयमा देखिएका तथ्यगत अवस्था र सम्बन्धित सरकारी वकिल र महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलको संलग्नतामा उठेका अन्य विषयमा सम्बन्धित मिसिल कागज अध्ययन गरी प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरिएको बताएको छ।
उक्त समितिले यस विषयमा उठेका कुराका विषयमा प्रतिवेदन तयार पारी १५ दिनभित्र पेस गर्न निर्देशन पनि दिएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ। प्रतिवेदनका आधारमा दोषी देखिएका व्यक्तिविरुद्ध कारबाही हुने पनि चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।