काठमाडौं- काठमाडौं महानगरपालिकाले नेवार समुदायमा प्रचलनमा रहेको पेय पदार्थ (ऐला) ब्रान्डिङ गर्ने योजना अघि सारेको छ। आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साहले उक्त योजना अघि सारेका हुन्।
उनले नीति तथा कार्यक्रम पढ्दै भने, 'नेवा समुदायमा प्रचलनमा रहेको स्थानीय पदार्थलाई आवश्यक कानुनीप्रक्रिया पूरा गरी अन्तराष्ट्रिय पहल गरिनेछ।'
उनले फल्चालाई पुरानै स्वरुपमा ब्युताउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्। यसैगरी ऐतिहासिक बहा: बही: र चोकलाई नेवारी भाषामा पहिचान दिने बताइएको छ।
यसैगरी हाँडिगाउँ क्षेत्रमा होम स्टेसञ्चालन गरिने महानगरको योजना छ। उक्त होम स्टेका लागि महानगरले नै तालिम दिने भएको छ।
यसैगरी स्थानीय भाषा संरक्षण गर्न रञ्जना लिपि तथा अन्य लिपिको प्रवर्द्धन गर्ने बताइएको छ।
विभिन्न जात्रा र पर्वलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गरेर पर्यटन प्रवर्द्धन गर्ने मेयर साहले बताएका छन्। साथै इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विश्वका विभिन्न सहरका मेयर र उपमेयर बोलाउने नीति तथा योजनामा उल्लेख गरिएको छ। जात्रा र गुठीलाई सहयोग निरन्तरता दिइने महानगरको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।