काठमाडौं– मदन भण्डारी स्पाेर्टस् एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। ७१औं मदन जयन्तीको अवसरमा एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा विभिन्न ७ खेललाई समेट्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता संघीय राजधानीदेखि मधेश प्रदेशसम्म सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगितामा क्रिकेट, भलिबल, रेस्लिङ, चेस, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोसँगै प्रशिक्षण तथा तालिम हुनेछ।
क्रिकेटमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ हुने आयोजकले जनाएको छ। क्रिकेट भैरहवा, दमक, वीरगञ्ज र जनकपुरमा २० असारसम्म हुनेछ। क्रिकेटको विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रूपैयाँ हात पार्नेछन्।
यता, काठमाडौं र बुटवलमा हुने खुला कलेजस्तरको भलिबलको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रूपैयाँ हात पार्नेछन्।
काठमाडौंमा पुरूषतर्फको मात्रै प्रतियोगिता हुने छ। काठमाडौंमा ८ देखि १० असारसम्म हुनेछ। बुटवलमा महिलातर्फको प्रतियोगिता ११ देखि १३ असारसम्म हुनेछ।
बास्केटबल १५ देखि १७ असारसम्म काठमाडौंमा हुनेछ। रेस्लिङ प्रतियोगिता झापामा १८ असारमा हुने आयोजकले जनाएको छ। जसमा लाइट वेट च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप, महिला लाइट वेट च्याम्पियनसिप, मिडल वेट च्याम्पियनसिप, हार्ड कोर च्याम्पियनसिप र हेभी वेट च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ।
वेट च्याम्पियनसिपको विजेताले ६० हजार, ट्याग टिम च्याम्पियनसिपको विजेताले ७५ हजार, महिला लाइट वेट च्याम्पियनसिपको विजेताले ७० हजार, मिडल वेट च्याम्पियनसिपको विजेताले ९५ हजार, हार्ड कोर च्याम्पियनसिपको विजेताले १ लाख र हेभी वेट च्याम्पियनसिपको विजेताले १ लाख २५ हजार रूपैयाँ हात पार्ने आयोजकले जनाएको छ।
चेस प्रतियोगिता बुटवलमा ११ देखि १३ असारमा हुनेछ। विजेताले २० हजार र दोस्रो हुनेले १० हजार रूपैयाँ हात पार्नेछन्। राष्ट्रिय स्तरको फूल कन्ट्याक्ट कराते १७ र १८ असारमा काठमाडौंमा हुनेछ। उपत्यका स्तरीय तेक्वान्दो २० र २१ असारमा ललितपुरमा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।