काठमाडौं- भुटानी शरणार्थी नेता डा भम्पा राईको आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ७५ वर्षीय राई विगत केही समयदेखि बिरामी थिए।
भुटानी राजाका निजी चिकित्सक पनि रहेका डा राई सन् ९० को दशकको सुरुमा भुटान सरकारले नेपाली भाषी आफ्ना नागरिकहरुलाई जबरजस्ती देशबाट लखेट्न सुरु गरेपछि भुटानको आफ्नो सुविधा सम्पन्न जीवन छाडेर नेपाल आएका थिए।
'केही समय डा राई भारत पश्चिम बङ्गालको डुअर्सस्थित आफ्ना नातेदार कहाँ बस्नु भयो, त्यस पछि पूर्वी नेपाल आउनु भयो,' हाल द नेदरल्यांड्समा रहेका एकजना भुटानी शरणार्थी नेता राम कार्कीले नेपाल लाइभसँग भने।
सुरुमा केहि समय राष्ट्र संघीय शरणार्थी संस्था, युएनएचसीआर, ले व्यवस्थापन गरेका भुटानी शरणार्थी शिविरहरुको व्यवस्थापनमा पनि संलग्न रहेका डा राईले पछि दमकमा आफ्नै क्लिनिक शुरु गरेका थिए।
उनले बांगलादेशबाट चिकित्सा शास्त्र पढेका थिए।
'स्थानीय समुदाय र शरणार्थीहरुका लागि उहाँको क्लिनिक २४ सै घण्टा खुला रहन्थ्यो। उहाँले आफ्नो जीवन रहंदा सम्म स्थानीय समुदाय र भुटानी शरणार्थीहरुको सेवा गर्नु भयो,' कार्कीले भने।
अन्तर्राष्ट्रिय समुदायले झन्डै एक लाख भुटानी शरणार्थीहरुलाई अमेरिका, बेलायत तथा युरोपका विभिन्न मुलुकहरुमा पुनर्वास गराउँदा पनि डा राइले भुटान फर्कने आफ्नो अडान त्यागेनन्। सन् १९९८ मा ‘भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति’ गठन गरेका उनले भुटान फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फर्कन पाउनु पर्ने माग राखी रहे।
मृगौला सम्बन्धी समस्याले ग्रस्त उनकी श्रीमतीको झन्डै २ वर्ष पहिले नेपालमै निधन भए पछि डा राइले एक्लो जीवन बिताई रहेका थिए।
'गत साता मसंग फोनमा कुरा हुँदा डा राईले आफू अशक्त र बिरामी भएकाले भुटान फिर्ती आन्दोलनलाई अगाडी बढाउन अनुरोध गर्नु भएको थियो। उहाँको निधनबाट सिंगो भुटानी नेपाली समुदायले एक अभिभावक र मार्ग दर्शक गुमाएको छ,' कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।