काठमाडौं– क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले अनेपक्षित रूपमा विंगर ओस्मान डेम्बेलेलाई टोलीमा राखेका छन्।
सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि बार्सिलोनाले गत जनवरीमा फ्रान्सका २५ वर्षीय विंगर डेम्बेलेलाई बेच्न चाहेको थियो। तर, उनले न क्लब छाडे, न सम्झौता नै नवीकरण गरे। बाँकी सिजनका लागि डेम्बेले बार्सिलोनामै रहे पनि अवसर भने कमै पाए।
त्यतिखेर प्रशिक्षक जाभीले भनेका थिए, ‘उनले नवीकरण गरून् या क्लब छाडुन्, उनी अहिले टिमका सदस्य हुन् र उनलाई नखेलाएर हामी हाम्रो खुट्टामा गोली हान्दैनौं।’
डेम्बेलेले क्लबलाई मद्दत नै गर्ने जाभीले त्यतिखेर बताएका थिए। गएको सिजन ला लिगामा डेम्बेले १३ असिस्ट गरेका थिए। उनले गरेको असिस्ट ला लिगामा सर्वाधिक हो।
गोलमा त्यति योगदान दिन नसकेपनि डेम्बेलेको खेललाई कमजोर भन्न मिल्दैन। तर, खेल सुध्रिरहेको समयमा उनी बार्सिलोना छोड्न चाहेको खबरहरू फैलिरहेको छ।
सन् २०१९ मा एक सय पाँच मिलियन युरोमा बोरूसिया डर्टमन्डबाट बार्सिलोनामा अनुबन्धित भएका डेम्बेलेले पाँच वर्षे सम्झौता गरेका थिए। तर, डेम्बेलेको सम्झौता यही जुनको अन्त्यसम्ममात्र छ।
सम्झौता सकिनै लाग्दा डेम्बेलेलाई भित्र्याउन इंग्लिस क्लब चेल्सीसँगै जर्मन क्लब बायर्न म्युनिख पनि दौडमा रहेको समाचारहरू प्रकाशित भइरहेका छन्। तर, डेम्बेलेले भने यी सबै अफवाह मात्र भएको बताएका छन्।
‘हाल बाहिर चलेका चर्चा सबै अफवाह मात्रै हुन्। म बार्सिलोनामै सहज महसुस गरिरहेको छु,’ डेम्बेलेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।