काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३)को छैटौं संस्करणको आवेदन खुलेको छ।
असार १ गतेबाट फिल्म दर्ताका लागि आवेदन खुल्ला गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।
‘कथाहरूको उत्सव’ भन्ने नारासहित विगत ६ वर्षदेखि भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनीमेटेड फिल्म गरी ७ विधामा आवेदन दिन सकिनेछ।
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर विधामा निःशुल्क आवदेन दिन सकिनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि निश्चित शुल्क तिर्नुपर्नेछ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय आवेदनहरु अनलाइन माध्यमबाट दिन सकिने अध्यक्ष पाठकले बताए।
www.filmfreeway.com/niff2023 मा पुस १० गतेसम्म आवेदन दिन सकिनेछ। निफ २०२३ आगामी वर्ष चैत्र २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।