काठमाडौं– पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो साता हुने भएको छ। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघले बुधबार पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करण राष्ट्रिय प्रतियोगिता पोखरामा असार ६ र ७ गते गर्ने जनाएको हो।
पोखरा रंगशालामा रहेको अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने प्रतियोगितामा २२ देखि २५ जिल्लाका १ सय पुरुष र ३० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघको अध्यक्ष अच्युत खनालले जानकारी दिए।
कोरोना महामारीका कारण प्रतियोगिता समयमा हुन सकेको थिएन। महामारीको अवस्था केही मत्थर भएसँगै आयोजकले प्रतियोगिता पोखरामा आयोजना गर्न लागेको हो। २०१५ देखि सञ्चालनमा आएको यो प्रतियोगिता तेस्रो पटक पोखरामा हुन लागेको हो। बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो।
प्रतियोगितामा स्ट्रिट स्केटबोर्ड र पार्क स्केटबोर्ड विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष खनालले जानकारी दिए। प्रतियोगिताको विजेतालाई थाइल्यान्डमा आयोजना हुने एसियन प्लेट च्याम्पियनसिपका सहभागिताको अवसर दिइने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।