काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि खेलाडीहरूको संरक्षण र विकासका लागि खेलखुद बीमाको अवधारणा विकास गर्ने भएको छ।
मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका सवालमा मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुदमन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले आगामी आर्थिक वर्षमा खेलाडीहरूको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बीमाको व्यवस्था गरेको बताए।
मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनका लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित समानको व्यवस्था पनि गरिएको जानकारी दिए।
आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उनको भनाइ छ।
उनले भने, ‘खेलाडीहरूको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ।’
मन्त्री पौडेलले खेलकुद र खेलाडीहरुको विकास विद्यालय तहदेखि गर्ने उदेश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।