काठमाडौं- आईटीएफ एसिया यू–१२ टेनिस छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ। आउँदो असार ३ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जानकारी दिए।
काजखस्तानमा हुने फाइनल प्रतियोगिताका लागि यो क्षेत्रीय छनोट हो। प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए।
पाकिस्तानबाहेक प्रतियोगितामा सहभागी सबै देशबाट महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानको भने पुरुष टोली मात्र हुनेछ। प्रत्येक राष्ट्रबाट ३ महिला र ३ पुरुष गरी ६ खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगितामा टिम स्पर्धामा मात्र प्रतिस्पर्धा हुनेछ। टिम स्पर्धामा २ एकल र एक युगल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए।
क्षेत्रीय छनोट प्रतियोगिताबाट पुरुष र महिलामा फाइनल खेल्ने २ राष्ट्र छनोट हुने र काजखस्तानमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
यो प्रतियोगिताका लागि नेपालले पुरुष स्पर्धामा बृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडालाई छनोट गरिसकेको छ। महिला स्पर्धामा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठ छनोट भएका छन्।
नेपालले गएको जेठ ७ देखि १० गतेसम्म सातदोबाटोमा छनोट प्रतियोगिता सञ्चालन गरेको थियो। नेपालले यसअघि सन् २०१७ र २०१८ मा यस प्रतियोगिताको आयोजना गरेको थियो।
२०१७ मा नेपालबाट पुरुष, २०१८ मा महिला र पुरुष तथा २०१९ मा पुरुष टोलीले क्षेत्रीय छनोट प्रतियोगिता पार गरेका थिए ।
२०१९ मा भने यो प्रतियोगिता बंगलादेशमा आयोजना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।