काठमाडाैं-नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा चढेका एक व्यक्तिकाे उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन्।
शनिबार बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव देशभर परेको छ। प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ। प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।
माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलिरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत् काठमाडौँ ल्याइएको छ। स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन्। उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिए।
मन्त्री भुसालले प्रसारण लाइनमा झुण्डीएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गरेका छन्। उनले भने , 'विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गरौ भनेर सेनालाई आग्रह गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।