काठमाडौं– नुवाकोटको ककनी गाउँपालिका–७ मा विद्युत्काे पोलमा चढेका एक जना अहिलेसम्म तल झरेका छैनन्। बिहान १० बजे पोलमा चढेका उनी अहिले तारमा यताउता गरिरहेका छन्।
उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला विक रहेको बुझिएको छ। उनको मानसिक अवस्था अस्वथ रहेको प्रहरीले जनाएको छ।
बिहानदेखि बिजुलीको पोलमाथि चढेर तारमा वारपार गरिरहेका विक अहिलेसम्म तल ओर्लिएका छैनन्। बिजुलीको लाइन नभएका बेला उनी चढेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए।
‘लाइन नभएका बेला चढेका रहेछन्। स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको छ। उनलाई तल झर्न फकाइरहेको छ। तर, उनी झर्दैनन्’, अध्यक्ष तामाङले भने, ‘उनकै कारण अहिलेसम्म लाइन आएको पनि छैन। त्यति माथि कसरी पुग्ने हो। उनी तल झर्दैनन्।
करिब दुई घण्टादेखि प्रहरीले उनलाई तल झर्न फकाइरहेको छ। स्थानीय र प्रहरी उनलाई विद्युत् पोलबाट तल झर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन्। स्थानीय हरि गुरुवाचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत फोटो र भिडिओ सार्वजनिक गरेका छन्।
अहिले उनी पोलबाटमाथि चढेर हाइटेन्सन लाइनको तारमा झुन्डिँदै अगाडि बढीरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।