काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले क्षेत्रपार्टी निःशुल्क चिकित्सालयको अनुगमन गरेका छन्। शनिबार बिहान अनुगमनमा गएका शाहले स्वास्थ्य र शिक्षा व्यापारका रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्।
२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।
मेयर बालेन्द्र शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रियापछि उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका छन्।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहिन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ? वार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।