काठमाडौं– सडकमा एलपीजी ग्यासको सिलिण्डर विष्फोटन गराएर आतंक मच्चाउने गिरोहका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
गत बैशाख ३० गते स्थानीय तह निर्वाचनको संघारमा बिहान २ बजेतिर काठमाडौं–३१ नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाने सडकखण्डमा सिलिण्डरमा आगो लगाएर विष्फोट गराइएको थियो।
सोही आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लाथि थुनामा पठाइएको हो। उक्त विष्फोटन गराइ आतंक मच्चाएको आरोपमा गोरखा, लखनथापा गाउँपालिका–५ का २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका–९ का २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका–८ का ३६ वर्षीय भरतकुमार राई पक्राउ परेका थिए।
पक्राउ परेकामध्ये भरतकुमार राई विभिन्न मितिमा हातहतियार खरखजाना, बैंकिङ कसूर तथा कर्तव्य ज्यान मुद्धामा समेत पक्राउ परेर कारबाही भुक्तान गरिसकेको पाइएको छ।
पछिल्लो समय राईले मिडियाको आवरणमा गलत सूचना प्रशारण गर्ने गरेको र छुट्टै समूह बनाइ विष्फोटनमार्फत जनतामा त्रास फैलाउने काम गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।