काठमाडौं- लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।
साथै, यस खातामा ग्राहकहरूले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धताअनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ।
यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ। यसै प्रतिबद्धताअन्तर्गत बैंक पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ।
सो साझेदारीमार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउनेछ, जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ।
साथै, ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमहरू अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले लक्ष्मी बैंकले विभिन्न अफरहरू पनि ल्याएको थियो।
विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउन सक्ने व्यवस्था गरिएको थियो। यति मात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्ट्स प्राप्त गर्न सकिने थियो।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्ट्समार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जसअन्तर्गत मोबइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरू पर्दछन्) १ वर्षका लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।