काठमाडौं– काठमाडौंको फोहोर विसर्जनस्थल(नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा ३ जना घाइते भएका छन्। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
स्थानीयसँगको झडपका क्रममा प्रहरी सहायक निरीक्षक (असई)सहित ३ जना प्रहरी कर्मचारी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।
मैनालीका अनुसार फोहोर फाल्न गएका गाडी स्थानीयले अगाडि बढ्न दिएका छैनन्। फोहोर बोकेर सिसडोल र बञ्चरेडाँडा पुगेका गाडीहरु फोहोर नफाली फर्किन लागेका मैनालीले जानकारी दिए।
प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड अश्रुग्यास प्रहार गरेको मैनालीले जानकारी दिए।
'स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। फोहोर फाल्न नसकिने अवस्था भएपछि फोहोर बोकेर गएका गाडीहरु फिर्ता आउन थालेका छन्,' मैनालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।