काठमाडौं- निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले देशका केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ।
नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको भन्दै आईस्पानले त्यस्ता ठाउँमा इन्टरनेट बन्द हुनसक्ने जानकारी दिएको छ।
मंगलबार एक सूचना जारी गर्दै आईस्पानले विद्युत प्राधिकरणले यी स्थानमा विद्युत लाइन काट्दा ब्याकअप सिस्टमका कारण केही समय इन्टरनेट चलिरहेपनि ब्याकअप सिस्टमले धान्न छाडेपछि कुनै पनि समयमा इन्टरनेट बन्द हुनसक्ने उल्लेख गरेको छ ।
इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, दुवही, लहान र डोटी, भैरहवा, ताँडी, विराटचोक, रंगेलीमा व्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै समयमा इन्टरनेट जान सक्ने आइस्पान बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।