काठमाडौं– खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमार बानियाँ र राजनैतिक विश्लेषक शंकर तिवारी, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस महामन्त्री थापाले नेपालले रैथाने जडीबुटी निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सक्ने बताए। योग, आयुर्वेद, रैथाने ज्ञान र जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजानु पर्ने थापाको भनाइ छ।
अर्का अतिथि तथा अमेरिकाको विश्वविद्यालयमा प्राध्यापन गर्ने आमोद पोखरेलले रैथाने जडीबुटीबारे लेखक घिमिरेसँग खँदिलो जानकारी भएको बताए। नेपालमा प्राप्त औषधिजन्य जडीबुटीबारे ‘क्लिनिकल ट्रायल’ गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ।
समीक्षक राजकुमार बानियाँले विदेशमा उच्च ओहोदामा बसेर पनि घिमिरेले नेपाली परिवेशका लागि निक्कै उपयोगी पुस्तक ल्याएको बताए। विश्लेषक शंकर तिवारीले लोक परम्परा र भोगाइ मिसाएर सरल तथा मिठो भाषाशैलीमा घिमिरेले पुस्तक लेखेको बताए।
उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। पुस्तकको मूल्य रु. ३२५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।