प्रतिकात्मक तस्बिर।
काठमाडौं– बर्दियामा बाघको आक्रमणपछि उत्पन्न तनावग्रस्त भीडमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर स्थानीय नबिना थारुको मृत्यु भएको हो। गोली लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा सामेबार बिहान ९ बजेतिर सोही ठाउँकी ४१ की अस्मिता थारु बाघको आक्रमणमा परेकी थिइन्। आफ्नो घरदेखि अन्दाजी १०० मिटर दक्षिणतर्फ खेतबारीमा खनजोत गरी रुखको छहारीमा बसेको अवस्थामा सोनाहा फाटा जंगलबाट आएको बाघले थारुलाई आक्रमण गरेको थियो। आक्रमणबाट उनी घाइते भएकी थिइन्।
थारुको कम्मर भन्दा मुनिको भाग, दाहिने हात र तिघ्रामा कोतरिएको थियो। त्यसपछि उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको थियो।
बाघको आक्रमणले घाइते बनाएको विषयलाई लिएर सोमबार नै दिउँसो सवा १ बजेदेखि मधुवन नगरपालिका–३ ओराली बजारमा चमेली गौरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कालुराम थारुको नेतृत्वमा बाघ आक्रमणलाई नियन्त्रण गरिनु पर्ने, तारजालीको व्यवस्था हुनु पर्नेजस्ता माग राखी आन्दोलन गर्दै हुलाकी सडक अवरुद्ध पारिएको थियो।
दिउँसो पौने ४ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेन्जरसहित १० जनाको टोली एवम् सुरक्षाकर्मीसहित बाघ नियन्त्रणको लागि घटनास्थल तर्फ खटिएको थियो।
सुरक्षाकर्मीले राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय गरिरहेका बेला बेलुका सवा ६ बजेतिर भीड आक्रोशित भई सुरक्षाकर्मीमाथि नै आक्रमणमा उत्रिएको प्रहरीको दाबी छ।
त्यसपछि प्रहरीले १ राउण्ड गोली र १९ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।
त्यसपछि आक्रोशित भिडले अस्थायी प्रहरी बिट ओराली बजारमा राखिएका नेपाल प्रहरीको ३ वटा मोटरसाइकलमा आगजनी गरेका थिए। प्रहरी बिट तोडफोड तथा बिटमा कार्यरत प्रहरीका लत्ताकपडा समेत सडकमा ल्याई आगो लगाएका थिए।
नेपाल प्रहरीतर्फ १४ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको उपचार भइरहेको र अन्य उपचारपश्चात डिस्चार्ज भएका छन्। सशस्त्र प्रहरी बल नेपालतर्फ २ जना घाइते भएका बर्दिया प्रहरीले जनाएको छ।
उक्त घटनाका वियषमा छानबिन गर्न गृहमन्त्रालयले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।