काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगर क्षेत्रमा फोहोर थुप्रिएर भोग्नु परेको कष्टका लागि सर्वसाधारणसँग क्षमा मागेका छन्।
घर, कोठा तथा सडकमा जम्मा भएको फोहोरले दु:ख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिएको भन्दै शाहले महानगरबासीलाई धन्यवाद ज्ञापन गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्, 'अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दु:खका लागि क्षमाप्रार्थी छौं। साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दु:ख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ।'
सोमबार सहसी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौंको फोहोर विसर्जन हुने नुवाकोटाका २ पालिकाका जनप्रतिनिधिसँग भएको सहमतिपत्रलाई उल्लेख गर्दै बालेनले अब फोहोर उठ्ने र यो विषय सबैका लागि खुसीको खबर भएको बताएका छन्।
फोहोर उठ्नु मात्रै समस्याको समाधान नभइ अझै धेरै गर्न बाँकी रहेको बालेनको भनाइ छ। 'हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,' बालेनले भनेका छन्, 'समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन। यसैले हामी आग्रह गर्छौं कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ।'
अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ने भएपनि अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिन बालेनको आग्रह छ।
फोहोर व्यवस्थापनको सन्दर्भमा महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरु नदोहोर्याउने बालेनको भनाइ छ। 'फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ। हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईंले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन,' बालेनले भनेका छन्।
अब कुहिने र नकुहिने फोहोर नछुट्याएमा महानगरले फोहोर नबुझ्ने पनि बालेनले उल्लेख गरेका छन्। 'तपाईंले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन। यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ, तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,' बालेनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।