भरतपुर–ग्लोबल आइएमई बैंक लिमिटेडको चितवन भरतपुरमा अत्याधुनिक तथा सुविधासम्पन्न कार्यालय भवनको शिलान्यास गरिएको छ।
बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुर महानगरपालिका १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास गरेका हुन्।
यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यले डिजिटल बैंकिङसम्बन्धी सचेतना र्याली पनि आयोजना गरेको छ। र्याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।