काठमाडौं-निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ। स्थानीय तहको निर्वाचन घोषणा भएपछि गत माघ २५ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिकको काम स्थगित भएको थियो।
‘आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले यही २०७९ साल असार १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ,’प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोगले नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ– आफ्नाे नाम दर्ता गराउन सक्ने उल्लेख गरेको छ।
नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने पनि आयोगले भनेको छ।
आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेका व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्। पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नाे स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रमसमेत संचालन हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।