काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक रूपमा सर्वसाधारणलाई होटल, रेष्टुरेन्ट, बैंक लगायतको शौचालय प्रयोग गर्ने दिनेबारे प्रक्रिया अघि बढाएको छ।
आइतबार एक सूचना जारी गर्दै महानगरले होटल, रेष्टुरेन्ट, बैंक लगायतले आफ्ना शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
सूचनामा महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थालगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न भनिएको छ।
महानगरको यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो।
त्यसपछि केही होटल तथा रेस्टुरेन्टहरूले महानगरको यो अभियानमा स्वत:स्फुर्त रूपमा साथ दिँदै आफ्ना शौचालयहरूलाई सर्वसाधारणका लागि पनि प्रयोग गर्न दिने सूचना जारी गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।