काठमाडौं– होटल संघ नेपाल (हान)ले होटल र रेष्टुरेन्टलाई प्लाष्टिकजन्य सामग्री मुक्त बनाउने अभियान सुरू गरेको छ। हानले होमस्टे महासंघ र होटल महासंघको सहकार्यमा यो अभियान सुरू गरेको हो।
बुधबार एक औपचारिक कार्यक्रम गर्दै हानले सदस्य होटलका कोठामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाउने घोषणा गरेको हो। सन् २०२४ को डिसेम्बरसम्म चल्ने यो अभियानले होटलहरूलाई पर्यावरणमैत्री बनाउने विश्वास राखेको छ।
विश्वलाई नै आक्रन्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्व माझ प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हानका अध्यक्ष सिर्जना राणाले बताइन्।
प्लाष्टिकका झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरू एकपटक प्रयोग गरेर फ्याँकिन्छ। उनको आकँडाअनुसार प्रत्येक वर्ष करिब ३० लाख टन प्लाष्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ।
‘यो अभियान सुरू भएको घोषणा गरिसकेका छौं। संघले वातावरणीय दिगोपनका लागि होटलका कोठाहरूमा एकल प्रयोग हुने प्लाष्टिकका सामग्रीको विकल्प खोजेको छ,’ उनले भनिन्, ‘दुई वर्षपछि सम्पूर्ण होटलहरू प्लाष्टिकजन्य सामग्रीबाट मुक्त हुनेछन्।’
नेपाल घुम्न आएकामध्ये ६८ प्रतिशत पाहुना पर्यावरणमैत्री होटलहरू पर्यटकले रूचाउने गरेको हानका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्। झण्डै ८७ प्रतिशत पर्यटकहरू दिगो यात्राका लागि तयार रहेको विभिन्न रिपोर्टले देखाएको छ।
त्यस्तै, क्षेत्रीय होटल संघका अध्यक्ष सीपी श्रेष्ठले राष्ट्रिय अभियानका रुपमा हानले ल्याएको यो अभियानलाई क्षेत्रीय होटल संघले समर्थन गर्ने बताए।
‘हामीले धेरै पहिलेदेखि भोगेको र समाधान गर्न नसकेको समस्यालाई हानले सम्बोधन गरेको छ। सबै मिलेर होटलका कोठामा हुने प्लास्टिकका सामग्री प्रयोगको अन्त्य गर्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।