काठमाडौं– नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भोइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भोइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो।
टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भोइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भोइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ। नेपालको युवापुस्तामा अति नै लोकप्रिय भोइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए।
कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भोइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्त्वपूर्ण रहेको बताए। नेपाली गीतसँगीत क्षेत्रको प्रर्बद्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनको भनाइ छ।
द भोइस अफ नेपाल चौंथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ। अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।