काठमाडौं– कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले एमालेको विरासत खोसेको छ। यसपटकको स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका धनराज आचार्य पोखराको मेयर निर्वाचित भए।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार आचार्यले ५८ हजार ८९३ मतसहित विजय हासिल गरे। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए।
गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर थापा पोखराको मेयर लड्न पुगेका थिए। तर, उनले आफ्नै पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादीका आचार्यसँग हार व्यहोर्नपर्यो।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छ्न्। उनले ६० हजार ५४६ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन्।
अघिल्लो निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भएका थिए।
यो निर्वाचनमा पोखरामा सत्तागठबन्धनले चुनावी तालमेल गरेको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।