काठमाडौं- राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमार्फत् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ।
सोमबार बसेको राजमोको केन्द्रीय सचिवालयको विस्तारित बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- 'अहिलेको स्थानीय तहको निर्वाचनमा पनि ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन सफल भएको छ। त्यसैले प्रतिगमनका विरुद्ध हाम्रो पार्टी सहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ।'
स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको परिणाम नै प्रतिगमनलाई परास्त गर्न सफलता प्राप्त भएको राजमोको ठहर छ। 'त्यसैले पाँच दलीय गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचनसम्म सँगै लैजानुपर्ने कुरामा बैठकले जोड दिएको छ', विज्ञप्तिमा भनिएको छ।
बैठकले पाँच दलमा आबद्ध कतिपय पक्षले एमालेसँग सहकार्य गरेको, गठबन्धनको निर्णयका विरुद्ध गएर गठबन्धनका उमेदवारलाई पराजित गर्न अन्य पक्षसँग साँठगाँठ गरेको, बागी उमेदवारी दिएको र गठबन्धनको मूल्य मान्यता विपरीत कैयौँ ठाउँमा दम्भ प्रदर्शन गरी सहकार्यमा वा चुनावमा संयुक्त रुपमा मिलेर जाने कुरामा बाधा पुर्याउने काम भएको भन्दै राजमोले त्यसैकारण एमालेलाई केही आंशिक लाभ पुगेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।