काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना हुने भएको छ। त्यहाँ पुनः मतदान हुनुपर्ने माग उठेको थियो। तर, निर्वाचन आयोगले पुनः मतदान नभइ मतगणना नै गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि त्यहाँ मतगणना गर्न लागिएको हो।
निर्वाचन आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले त्रियुगामा मतगणना कार्य अघि बढाउन पत्राचार भइसकेको जानकारी दिए। ‘आयोगले हिजो नै मतगणना गर्न भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइसकेको छ,’ उनले भने, ‘आजदेखि त्यहाँ मतगणना हुनेछ।’
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा पुनः मतदान हुनुपर्ने माग गरिएको थियो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा लगायतका दलले पुनः मतदानको माग गरेका थिए भने नेपाली कांग्रेस र नेकपा एमालेले मतगणना कार्य अघि बढाउनुपर्ने माग राख्दै आएका थिए।
त्रियुगा नगरपालिकाको मतगणना कार्य अघि बढाउने निर्णय आयोगले दिए पनि सुदूरपश्चिमको बाजुराको बूढीगंगा नगरपालिकाको विषयमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन। प्रवक्ता पौडेलले बूढीगंगाको विषयमा आयोगले निर्णय गरिनसकेको जानकारी दिए।
त्यहाँ पनि नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। कांग्रेसले त्यहाँ पुनः मतदान हुनुपर्ने माग राख्दै आएको छ। एमालेले भने मत गणना थाल्नुपर्ने अडान लिएको छ।
त्यहाँ पुनः मतदान गर्ने वा मतदान भइसकेकाले गणनाको काम सुरु गर्ने भन्ने विषयमा अन्योल देखिएको छ। निर्वाचन आयोगले त्यहाँको अवस्थाका बारेमा स्थलगत अध्ययन गर्न आयुक्त सगुन सम्शेर राणा नेतृत्वमा छानबिन टोली नै पठाएको थियो। उक्त टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले निर्णय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।