काठमाडौं– विभिन्न १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अर्थ र उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन्।
पहिलो चरणको आन्दोलन अन्तर्गत मंगलबार अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको हो।
विद्यार्थी संगठनले भोलि बुधबार बिहान ११ बजे आयल निगमको केन्द्रीय कार्यालय टेकुमा घेराउ गर्ने र देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने, १२ गते साँझ काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्।
उनीहरुले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न र पटक–पटक पेट्रोलियम पदार्थमा हुने गरेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न तथा पेट्रोलियम इन्धनको विकल्पका रुपमा जलविद्युतको पर्याप्त उपलब्धता हुने व्यवस्था गर्न समेत माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।