काठमाडौं- उपमहानगरपालिकाहरुको मतगणना सकिने क्रममा छ। गणना जारी दुईमध्ये जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले जितेका छन्। निर्वाचन आयोगबाट आधिकारिक रुपमा घोषणा हुन बाँकी उनले १३ हजार ४६५ मत प्राप्त गरेका छन्। उपमेयरमा भने कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत प्राप्त गर्दै विजयी भएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा भने परिणाम आउन अझै केही समय लाग्ने देखिन्छ। पछिल्लो गणनाअनुसार एमाले उम्मेदवार टिकाराम खड्काले २२ हजार २ सय १४ मतसहित अग्रता लिइरहेका छन्।उनलाई गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २० हजार ५ सय ३७ मतसहित पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकै स्यानी चौधरीले २१ हजार ७ सय ३७ मतसहित अग्रता कायम राखेकी छिन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानामगरले १५ हजार ३ सय १ मतसहित पछ्याइरहेका छन्।
तुलसीपुर एमालेले जितेको अवस्थामा कांग्रेस, एमाले र स्वतन्त्रका समान तीन-तीन वटा प्रमुख हुनेछन्। माओवादीले एक र समाजवादीले एक-एक जितेका छन्।
यसअघि अन्तिम परिणाम घोषित उपमहानगरमा सुनसरीको धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले जितेका छन्। इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले प्रमुख जितेका छन्।
कलैयामा एमालेका विनोदप्रसाद साहले जितेका छन्। जितपुर सिमरामा माओवादीका राजन पौडेल, हेटौंडामा समाजवादीकी मीना लामा, बुटवलमा कांग्रेसका खेलराज पाण्डे, घोराहीमा एमालेका नरुलाल चौधरी, नेपालगञ्जमा कांग्रेस प्रताप विष्ट र धनगढीमा स्वतन्त्र उम्मेदवार गोपी हमालले जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।