काठमाडौं– काठमाडौं महानगरपालिका–१६ मा एक पुरुषको हत्या गरी बोरामा प्याक गरेर शव विष्णुमति खोलामा फालिएको अवस्थामा भेटिएको छ । हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जेठ ५ गते दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती नदी किनारमा सड्न लागेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो। बोरामा प्याक गरेर फालिएको अवस्थामा भेटिएको शवबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
अनुसन्धानका क्रममा मृत भेटिएका व्यक्ति सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ बराम्चे घर भई काठमाडौंको नयाँबजार बस्दै आएका ३५ वर्षीय जीवन भनिने कान्छा लामा तामाङ भएको खुल्यो। शवको सनाखत भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर घर भएका ४५ वर्षीय ठोकर कान्छा भनिने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपालिका–६ लेले घर भएका ४० वर्षीया गायत्री नगरकोटी छन्। उनीहरुलाई जेठ ६ गते पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
मदिरा सेवन गर्ने क्रममा विवाद हुँदा तामाङको हत्या भएको पाइएको कोइरालाले जानकारी दिए। नयाँबजार बिष्णुमति पुल नजिक बालाजु संरक्षण समिति एंव शिव मन्दिर पहलमान पौवा परिसरभित्र रहेको भवनको कोठामा तामाङ बस्दै आएका थिए।
उनीहरु सँगै मदिरा पिउने क्रममा वैशाख २८ गते विवाद भएको थियो। विवाद भएपछि हाल पक्राउ परेका दुई जनाका साथै मकवानपुर फापरबारी ठूलो कायर घर भएका दीपक वाइवासमेत मिलेर तामाङलाई कुटपिट गरेका थिए।
उनीहरुले टाउकोमा हम्मरले हान्नुका साथै घाँटीमा सलले कसेर तामाङको हत्या गरेको पाइएको एसपी कोइरालाले बताए। हत्या पश्चात खुट्टा खुम्च्याएर सलले बाँधेको, शवलाई तन्ना, म्याट्रेसले बसेर प्लाष्टिकमा प्याक गरेर बोराभित्र हालि डोरीले बाँधेर विष्णुमति खोलामा उनीहरुले फालेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।