काठमाडौं– हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ।
जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एअरलाइन्स्की उडान परिचारिका ओमनिका डंगोलले सगरमाथाको पाइला टेकिन्। त्यसपछि सकुशल काठमाडौं फर्किएकी उनलाई गैरीधारामा अवस्थित मुख्य कार्यालयमा हिमालय परिवारले स्वागत गर्यो।
एअरलाइन्सद्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए। टोलीलाई बधाई दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण परियोजना हो। ओमनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्केकोमा हामी अत्यन्त खुशी छौं। यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उनको सुरक्षाको लागि चिन्तित थिएँ।'
डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन्। हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, 'हिमालय एअरलाइन्सका मुख्य उद्देश्यहरुमध्ये नेपाली पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो। यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र हो। हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।