वीरगञ्ज–पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। एमाले उम्मेदवार विजयकुमार सरावगीले नौ हजार ५०४ मतसहित सिंहलाई पछ्याइरहेका छन्।
महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ। कूल ३२ वटा वडा रहेको वीरगञ्जमा अन्य वडाको मत परिमाण आउन बाँकी छ।
पर्सामा कूल १४ पालिका छन्। तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन्–
बहुदर माई नगरपालिका
बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का सिंगासन साह तेली निर्वाचित भएका छन्। तेलीले छ हजार चार मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गरे।
यसैगरी उपप्रमुख पदमा एमालेकी सुस्माकुमारी कुशवाहा निर्वाचित भइन्। छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गरिन्।
पोखरिया नगरपालिका
पोखरियाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन्। चौहान पाँच हजार ३२४ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा पनि एमालेकै रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बनिन्। उनका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत पाइन्।
विन्दवासिनी गाउँपालिका
विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी भएका छन्।
तिवारी चार हजार १४१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक चौरसियाले तीन हजार ४६८ मत हासिल गरे।
त्यस्तै उपाध्यक्ष पदमा एमालेकी ज्योतिदेवी चौरसिया विजयी भइन्। चौरसिया दुई हजार ३६६ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरिन्।
पकहामैनपुर गाउँपालिका
गाउँपालिकाको अध्यक्ष पदमा र्काग्रेसका सुरेशप्रसाद मेहता निर्वाचित भएका छन्। मेहताले चार हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गरिन्।
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएका छन्। चौधरीले चार हजार ५६० मत गरे। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गरे।
यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी भएकी छन्। चौधरीले चार हजार ७१० मत प्राप्त गरिन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गरिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।