काठमाडौं- महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा असन्तुष्टि आएपछि ब्युँतिएको पुरानो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले मधेश प्रदेशको महोत्तरीमा खाता खोलेको छ।
महोत्तरीको महोत्तरी गाउँपालिकामा तमलोपाका उम्मेदवारले प्रमुख पदमा जित हात पारेका हुन्। उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीबाट विभाजित भएर सुरुमा लोसपा गठन भएको थियो। लोसपामा असन्तुष्ट पक्षले तमलोपालाई ब्युँताएका थिए।
उक्त पार्टीका उम्मेदवार दिलिपकुमार पाण्डेले २ हजार ३ सय ३६ मत पाउँदै जित हात पारेका छन्। उनले जनता समाजवादीका उम्मेदबार अजयजङ्ग रायलाई पराजित गरे। राये २ हजार २ सय ८ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा जसपाकी दिपादेवि पासवानले जित हात पारेकी छन्।
उनले २ हजार ६४ मत प्राप्त गरिन्। उनको प्रतिस्पर्धी तमलोपाकी ललितादेवि साह १ हजार ९ सय ९१ मत प्राप्त गरिन्। तत्कालीन समयमा नेपाली कांग्रेस छोडेर मधेशको राजनीतिमा आएपछि महन्थ ठाकुरले तमलोपा गठन गरेका थिए। तमलोपा अन्य मधेश केन्द्रित दलसँग मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो।
त्यसपछि उपेन्द्र यादवसँग एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। त्यसबाट अलग भएर ठाकुरले लोसपाको नेतृत्व गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।