पोखरा- पोखरा महानगरपालिकाको मत गणना चलिरहेको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत गणना चलिरहँदा आधा भन्दा धेरै पालिकाहरुको मतपरिणाम सार्वजनिक भएको छ।
महानगर र उपमहानगरमा भने मतगणना चलिरहेको छ। धेरै मतदाता भएका क्षेत्रमा गणनामा समय लाग्ने देखिएको छ। ६ महानगर मध्ये पोखरामा गठबन्धन भर्सेस एमाले प्रतिस्पर्धा रोचक रुपमा चलिरहेको छ। सुरुमा मेयरमा रोचक प्रतिस्पर्धा देखिएको पोखरामा अहिले उपमेयरमा त्यस्तै कडा टक्कर देखिएको छ। अहिलेसम्म उक्त महानगरमा ५५ हजार २६७ हजार ८१७ मतगणना सम्पन्न भएको छ।
केही समय अघिको गणनामा एमालेकी उपमेयर मञ्जु गुरुङ अघि लागेकी थिइन्।
पछिल्लो गणनाअनुसार नगर उपप्रमुख नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता कायम गरेकी छन्। रानाभाटले २३ हजार १ सय ६४ मत पाएकी छन् भने एमालेकी उमेदवार गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छन्। मतगणनाका क्रममा यी दुई उमेदवार अघिपछि भइरहेका छन्। उनीहरुका बीचमा १४३ मतको फरक देखिएको छ।
मेयरमा भने धनराज आचार्यले २१ हजार ८ सय ८० मत पाएका छन् भने एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत पाएका छन्। उनीहरुका बीचमा २४ सय ९२ मतको फरक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।