काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षबाट गुण्डागर्दीको सहारामा जनमत आफ्नो पक्षमा पार्ने प्रयास भएको बताएका छन्। मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गर्नुपर्ने हो। सरकारले त्यसो गर्न सकेन,’ उनले भने,‘कर्मचारी र सुरक्षाकर्मी खटाउने विषयमा पनि षड्यन्त्र भए, तर हामीले यी विषयमा सुरुवातदेखि नै ध्यानाकर्षण गराउँदै आएका थियौं।’
उनले एकपटक खटाइसकेका कर्मचारीलाई नियोजित हिसाबले परिवर्तन गर्ने काम गरिएको समेत बताए।
‘निर्वाचनको अवधिमा भयरहीत वातावरणमा चुनाव प्रचार गर्न पाउनुपर्ने हो। तर, हाम्रा जनप्रतिनिधिले त्यस हिसाबले प्रचार गर्न पाएनन्,’ उनले भने, ‘हाम्रा प्रतिनिधिको हत्या गर्ने, अपहरण गर्ने, आक्रमण गर्ने काम भयो। यसले के बताउँछ भने सत्तापक्षले गुण्डागर्दीको सहारामा जनमत आफ्नो पक्षमा पार्ने प्रयास गर्यो भन्ने देखिन्छ।’
उनले देशभरमा भएका घटनाको सरकारले छानबिन गर्नुपर्ने बताए। ‘सत्ताको चरम दुरुपयोगका रुपमा चितवनमा प्रहरी प्रशासनको गाडीमा कार्यकर्ता पुगेर पैसा वितरण गर्ने काम भयो। हामीले त्यसको प्रतिकार गर्यौं। अमुख उम्मेदवार जिताउनका लागि काम गरेको पाइयो,’ उनले भने, ‘जहाँ नेकपा एमालेका प्रभाव क्षेत्र थियो, त्यहाँ निर्वाचन बिथोल्ने खेल भयो र पुनः निर्वाचन गर्ने षड्यन्त्र पनि गराइयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।