काठमाडौं– संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ। मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले २:३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची पनि प्रकाशित गरेको छ। जसअनुसार सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन्।
त्यसैगरी, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ) “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८" र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८" पेस गर्ने कार्यसूची छ।
अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
नेकपा एमाले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।