काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको संघीय निर्वाचन क्षेत्र झापा ३ मा पर्ने तीन पालिकामध्ये एउटा मात्र राप्रपाले अग्रता कायम गरेको छ। राप्रपा एउटामा दोस्रो स्थानमा र अर्कोमा तेस्रो स्थानमा छ।
लिङदेनको गृहपालिका हल्दीबारीमा राप्रपाका अध्यक्ष उम्मेदवार रविन्द्र लिङदेनले फराकिलो अग्रता लिइरहेका छन्। उनी राजेन्द्र लिङदेनका दाजु हुन्। उनले १६६० मत पाउँदा एमालेका डम्बरबहादुर गिरीले १०२६ मत ल्याएर पछ्याइरहेका छन्। उपाध्यक्षमा पनि राप्रपा उम्मेदवार नै अगाडि छन्।
कचनकवलमा भने राप्रपा कांग्रेससँग पछि परेको छ। यो पालिकामा कांग्रेस र एमालेले राप्रपाविरुद्ध गठबन्धन गरेका छन्।
अध्यक्षका लागि कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशीले २५८० मतसहित अग्रता कायम गर्दा राप्रपाका अन्जार आलमले १९९३ मत पाएका छन्। उनी निवर्तमान अध्यक्ष हुन्।
उपमेयरमा भने राप्रपा झिनो मतले पछि परेको छ। यहाँ एमाले उम्मेदवार नवराज भट्टराईले १३९१ मत पाउँदा राप्रपाका निमसरी राजवंशीले १३७५ मत पाएकी छिन्।
यो क्षेत्रमा पर्ने एक मात्र नगरपालिका र सदरमुकाम रहेको भद्रपुरमा भने राप्रपा तेस्रो स्थानमा पुगेको छ। यहाँ कांग्रेसका मेयर उम्मेदवार गणेश पोखरेलले २०१६ मतसहित अग्रता लिएका छन्।
निकटतम् प्रतिश्पर्धी रहेका असारु राजवंशीले १५५९ मतसहित पछ्याइरहेका छन् भने राप्रपाका नवराज पनेरुले १४०५ मत पाएका छन्। यहाँ उपमेयरमा पनि राप्रपा तेस्रो स्थानमा नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।