काठमाडौं– पोखरा महानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको छ। हालसम्म तीनवटा वडाको गणना हुँदा कुल १६ सय मत गनिएको पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुरज अधिकारीले बताए।
अधिकारीले भने, ‘मतगणना ढिलाई हुनुमा कर्मचारी अभाव कारण होइन। कर्मचारी पर्याप्त छन्। गणनामा ६ जना र सर्टिङमा थप धेरै जना छन्। व्यवस्थापन भएको छ। तर, राजनीतिक दलले पनि गणनाको विषयमा सहयोग गर्नुपर्ने हुन्छ।’
अधिकारीकाअनुसार शनिबार मतगणना सुरु हुँदा मतगणनाको स्थलमा सबै वडाका सबै जनप्रतिनिधिका उम्मेदवार जाने प्रयास गर्दा केही नाराबाजी पनि भएको थियो। ढिलाई हुनुमा राजनीतिक दलको असहयोग कारण भएको उनी बताउँछन्।
उनले भने, ‘राजनीतिक दलले सहयोग गर्नुपर्ने हुन्छ। दुई नम्बर वडाको ढिलो भएको हो कि भन्ने कुरा छ। विस्तारै यो पनि तिव्र गतिमा जान्छ।’
पोखरा महानगरपालिकामा हाल तीन वटा वडाको मतगणना भइरहेको छ भने केहीबेरमा २३ नम्बर वडाको पनि मतगणना गर्ने तयारी छ। अधिकारीकाअनुसार आज प्रत्येक वडाको मतगणना दुई वटा टोली खटाएर गर्ने तयारी रहेको छ।
उनले भने, ‘राजनीतिक दलबाट पनि समन्वय खोजिरहेका छौं। यो अब तिव्र रुपमा जान्छ। तयारी सबै भएको छ। तर, एकैचोटी गणना गर्दै व्यवस्थापनको हिसाबले गाह्रो हुन्छ भनेर विस्तारै बढाउँदै लैजाने तयारी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।