काठमाडौं– उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङ्फु टोली इङ्गल्यान्डको उस्र्टर जाने भएको छ।
मार्सल आर्ट्सका विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ। त्यसमा २ पुरुष खेलाडीले उमा कुङ्फुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। भुपेन्द्र गुरुङले चाइनिज फर्मसको छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्नेछन्। सञ्जयले अस्ट्रियामा भएको वर्ल्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। भूपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए।
फिसियल तथा जजका रुपमा नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसँगै इङ्गल्यान्ड जाँदै छन्। अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायत राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन्। लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताए।
भूपेन्द्र शुक्रबार जानेछन् भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम छ। टोलीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन तथा सदस्यत्रय अशोक केसी, गुना गुरुङ र कमल मगरले बिहीबार आयोजित एक कार्यक्रमबीच बसुन्धारामा बिदाइ गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।