काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब चार दिन बाँकी छ। मत खसाल्ने दिन नजिकिएसँगै दलहरूले प्रचार-प्रसार तीव्र बनाएका छन्। ठाउँ–ठाउँमा चुनावी सभाका कार्यक्रम भइरहेका छन्। उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा व्यस्त छन्। प्रचार-प्रसारका लागि अब एकदिन बाँकी रहँदा देशैभर शीर्ष नेताहरूको दौडधुप जारी छ।
देशभरका ७५३ स्थानीय तहमा एकैपटक वैशाख ३० गते निर्वाचन हुँदैछ। तर, अहिले सबैको ध्यान देशको ठूलो महानगर काठमाडौं र चितवनको भरतपुरमा छ।
सबैभन्दा ठूलो महानगरपालिका रहेको काठमाडौं जिल्लामा ११ वटा स्थानीय तह छन्।
काठमाडौं जिल्लामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पाँच लाख ५९ हजार ४०७ जना मतदाता थिए। सो निर्वाचनमा चार लाख २२ हजार ३१४ मत खसेको थियो। तीमध्ये तीनलाख ७२ हजार ९५४ मत सदर भएका थिए भने ४९ हजार ३६० मत बदर भएको थियो।
वैशाख ३० काे निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा गरेका मतदाताको संख्या ६ लाख ३७ हजार ७७५ पुगेको छ। पाँच वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा काठमाडौंमा ७८ हजार ३६८ नयाँ मतदाता थपिएका छन्। यी नयाँ मतदाता आसन्न निर्वाचनमा निर्णायक देखिएका छन्।
दलहरुले यसअघि प्रतिस्पर्धामा ल्याएको मतलाई तुलना गर्दा नयाँ थपिएका मतदाता निर्णायक हुने देखिएको छ।
काठमाडौं महानगरपालिका
देशका ७५३ स्थानीय तह मध्ये सबैभन्दा ठूलो महानगर हो काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यस महानगरमा पाँच दलीय गठबन्धन तालमेल गरेर चुनावी मैदान होमिएको छ भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले सिर्जना सिंहलाई प्रमुख (मेयर)को उम्मेदवार बनाएको छ भने नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनले रामेश्वर श्रेष्ठलाई उपप्रमुख (उपमेयर)को उम्मेदवार बनाएको छ।
नेकपा एमालेबाट ०५४ मा मेयर भइसकेका केशव स्थापित चुनावी प्रतिस्पर्धामा छन् भने उपमेयरमा सुनिता डंगोल मैदानमा होमिएकी छन्। डंगोलले यसअघि स्वतन्त्रबाट मेयरको उम्मेदवारी घोषणा गरेकी थिइन्। पछि एमालेले उनलाई उपमेयरको उम्मेदवार बनाएको हो।
दलहरूका लागि काठमाडौं महानगरपालिका प्रतिष्ठाको विषय बनेको छ। एमाले महानगरमा यसअघिको जितलाई फेरि निरन्तरता दिने रणनीतिमा छ भने गठबन्धनको सहयोगमा नेपाली कांग्रेस ०७४ को हारको बदला लिने दाउमा छ।
काठमाडौं महानगरमा गठबन्धन र एमाले मात्रै होइन स्वतन्त्र उम्मेदवार बालेन साह र विवेकशील साझाबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटा चर्चामा छन्।
काठमाडौं महानगरपालिकाको निर्वाचनमा नयाँ थपिएका २० हजार ९३३ मतदाता निर्णायक हुने देखिएको छ। ०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले ७ हजार ९०६ मत ल्याएका थिए।
विवेकशील नेपाली दलबाट रन्जु न्यौपानेले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्। अर्का स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए। यसअघिको निर्वाचनमा एमालेले राप्रपासँग गठबन्धन गरेको थियो।
एमालेले गठबन्धन गरेको भए पनि उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठ पराजित भएका थिए। उनले ३४ हजार ८५४ मत प्राप्त गरेका थिए। कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर उपमेयरमा विजयी भएकी थिइन्।
एमालेले महानगरमा आफ्नो विरासत जोगाउने दाबी गरिरहेको छ भने गठबन्धन भने सबै एक भएकाले यसपटक काठमाडौं महानगर जितिनेमा विश्वस्त देखिन्छ। ०७४ मा जति सहजै एमालेले जितेको थियो यसपटक पाँचदलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा चुनौती भने देखिएको छ।
कागेश्वरी मनोहरा नगरपालिका
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रसमेत रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिकामा त्रिपक्षीय भीडन्त हुने आकलन गरिएको छ। सत्ता गठबन्धनबीच पूर्णरुपमा तालमेल हुन नसक्दा नेपाली कांग्रेसले माओवादीको साथ पाएको छ भने एमाले र एकीकृत समाजवादी एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यसअघिको स्थानीय तह निर्वाचन कागेश्वरीमा नेकपा एमालेका कृष्णहरी थापा ८ हजार ९६९ मत ल्याएर निर्वाचित भएका थिए। तर, एमाले विभाजनमा उनले एकीकृत समाजवादी रोजेका छन् र यसपटक उनी उक्त दलबाट मेयरका उम्मेदवार रहेका छन्। गत निर्वाचनमा उनी कांग्रेसका उपेन्द्र कार्कीसँग झिनो मत अन्तरले विजयी भएका थिए। कार्कीले ८ हजार ४८७ मत प्राप्त गरेका थिए।
नेकपा माओवादी केन्द्रका महेश्वर फुयालले २५६७ मत ल्याएका थिए। उपप्रमुखमा नेकपा एमालेका विन्दु पुडासैनीले ९ हजार १८२ मत ल्याएर विजयी भएकी थिइन्। नेपाली कांग्रेसकी अनिता अधिकारी(थापा)ले ८ हजार २९६ मत ल्याएकी थिइन्। नेकपा माओवादी केन्द्रका रुकमाया रनपालले २ हजार १९२ मत ल्याएकी थिइन्।
यसअघिको निर्वाचनमा कागेश्वरीमा २७ हजार ९२९ मतदाता रहेका थिए। अहिले कागेश्वरीमा ३५ हजार ४९३ मतदाता रहेका छन्। थपिएका ७ हजार ५६४ मतदाता यहाँ पनि निर्णायक हुने देखिएको छ। यहाँ अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रको सहयोगमा उपेन्द्र कार्की चुनावी मैदानमा रहेका छन्। भने नेकपा एमालेका तर्फबाट रामशरण ढुङ्गाना मेयरको चुनावी मैदानमा रहेका छन्।
कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकामा पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ। त्यहाँ नेपाली कांग्रेसबाट राजकुमार नकर्मी मेयरका उम्मेदवार बनेका छन्। यस नगरपालिकामा नेकपा एमालेबाट केशरत्न बज्राचार्य मेयरको चुनावी मैदानमा छन्।
यसअघिको निर्वाचनमा मेयर उपमेयर दुवैमा जित हासिल गरेको नेकपा एमालेले यसपटक आफ्नो विजय यात्रालाई निरन्तरता दिने दाउमा छ। कांग्रेस भने जसपाको साथ लिएर चुनावमा होमिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित राप्रपाले पनि उम्मेदवारी दिएको छ।
यसअघिको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा एमालेका रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६१६ मत ल्याएका थिए। नकर्मी अहिले पनि मेयरको उम्मेदवार छन्।
नेकपा माओवादी केन्द्रका हिराबहादुर महर्जनले ४ हजार ९ मत ल्याएका थिए। उपप्रमुखमा पनि एमालेकै सरस्वती रिजालले ६ हजार ८१० मत ल्याएर विजयी भएकी थिइन्। नेपाली कांग्रेसकी विमला विष्टले ६ हजार ४३ मत ल्याएकी थिइन्। नेकपा माओवादी केन्द्रकी सुशीला बस्नेत ३ हजार ६५ मत प्राप्त गरेकी थिइन्।
अहिले कीर्तिपुरमा मतदाता ३० हजार ३२८ रहेका छन्। ०७४ मा २८ हजार १०१ मतदाता रहेका थिए।
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकामा ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको थियो। यसपटक पनि गोकर्णेश्वरमा नेपाली कांग्रेसले जितलाई निरन्तरता दिने जनाएको छ भने नेकपा एमाले यसअघिको पराजयलाई जितमा फर्काउने गरी तयारी गरिरहेको जनाएको छ।
यसपटक गोकर्णेश्वरमा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तालमेल गरेका छन्।
नेपाली कांग्रेसबाट दिपक रिसाल मेयरका उम्मेदवार छन् भने नेकपा एमालेका तर्फबाट उद्धव विष्ट मैदानमा होमिएका छन्।
यसअघि गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसका सन्तोष चालिसे ९ हजार ९ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा एमालेका पुण्यप्रसाद चौलागाईले ७ हजार ५९५ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका तेजराज नेपालले २ हजार २६ मत प्राप्त गरेका थिए। उपप्रमुखमा नेपाली कांग्रेसका शान्ति नेपालले ८ हजार ५९८ ल्याएर निर्वाचित भएकी थिइन्। भने नेकपा एमालेका शान्ती श्रेष्ठले ८ हजार ६२ मत प्राप्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्रका रेनु कार्कीले २ हजार २०३ मत प्राप्त गरेकी थिइन्।
गोकर्णेश्वरमा यसअघिको निर्वाचनमा २८ हजार ६० मतदाता रहेका थिए भने अहिले ३३ हजार ८९८ मतदाता रहेका छन्। नयाँ थपिएका मतदाता यस नगरपालिकामा पनि निर्णायक हुनेछन्।
चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकामा यसपटक नेपाली कांग्रेससहित गठबन्धन दलले तालमेल गरेका छन्। राष्ट्रिय जनमोर्चालाई यहाँ गठबन्धनले उपमेयर दिएको छ।
मेयरमा नेपाली कांग्रेसबाट घनश्याम गिरी उम्मेदवार छन्। उनी ०७४ मा नेपाली कांग्रेसबाट नै निर्वाचित भएका थिए। यहाँ नेकपा एमालेको तर्फबाट उत्तमबहादुर राउत मेयरको उम्मेदवार छन्।
यसअघिको निर्वाचनमा चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रल्हादबहादुर कार्कीले १० हजार ४२१ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए।
तर, उपमेयरमा भने नेकपा एमालेकी लिशा नकर्मीले ११ हजार ८३४ मत ल्याएर निर्वाचित भएकी थिइन्। नेपाली कांग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३२ र नेकपा माओवादी केन्द्रका उर्मिला रोकाले ३ हजार ८५४ मत ल्याएकी थिइन्।
०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकामा ३८ हजार ८३६ मतदाता रहेका थिए भने अहिले त्यहाँ मतदाता बढेर ४७ हजार २६४ मतदाता पुगेका छन्। चन्द्रागिरिमा पनि गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।
टोखा नगरपालिका
टोखा नगरपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको थियो। एमाले यसपटकको निर्वाचनमा पनि टोखा नगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिने दाउमा छ।
गत निर्वाचनमा प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारीले ८ हजार ८९५ निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ मत प्राप्त गरेका थिए।
नेकपा माओवादी केन्द्रका कल्पना शर्माले २ हजार ३९२ मत ल्याएकी थिइन्। उपप्रमुखमा नेकपा एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत ल्याएर निर्वाचित भएकी थिइन्। नेपाली कांग्रेसकी रजनी थापाले ८ हजार ३६ मत ल्याएकी थिइन्। नेकपा माओवादी केन्द्रका दिपक बानियाँले २ हजार ४७४ मत ल्याएका थिए।
टोखामा नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीको साथ छ। त्यहाँ कांग्रेसबाट रजनी थापा मेयरको प्रतिस्पर्धामा छन्। भने नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएका छ। त्यहाँ एमालेले प्रकाश अधिकारीलाई उम्मेदवार बनाएको छ।
टोखामा यसअघिको निर्वाचनमा २८ हजार १७१ मतदाता रहेका थिए भने अहिले ३४ हजार ६७६ जना मतदाता रहेका छन्।
तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकामा यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको थियो। यसपटकको निर्वाचनमा पनि एमालेले आफ्नो जितको यात्रालाई निरन्तरता दिने तयारीमा छ। एमालेले यसपटक पनि रामेश्वर बोहरालाई नै मेयरको उम्मेदवार बनाएको छ। उनी ०७४ मा निर्वाचित भएका थिए।
नेपाली कांग्रेसले कृष्णहरि महर्जनलाई मेयरमा उम्मेदवार बनाएको छ। त्यहाँ नेकपा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर तालमेल गरिएको हो।
पाँच दलीय गठबन्धनको नेकपा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा छ। समाजवादीले यहाँ लवकुमार बस्नेतलाई मेयरको उम्मेदवार बनाएको छ।
तारकेश्वर नगरपालिका प्रमुखमा ०७४ मा एमालेका रामेश्वर बोहराले ९ हजार ३२६ मत ल्याएर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका श्रीराम थापाले ७ हजार ७५७ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका धनलाल महर्जनले ३ हजार २२१ मत ल्याएका थिए।
उपप्रमुखमा पनि एमालेका भवानी डोटेल धितालले १० हजार ३३७ मत ल्याएर निर्वाचित भएकी थिइन्। भने नेपाली कांग्रेसकी गीता न्यौपाने अर्यालले ६ हजार ९८३ मत ल्याएकी थिइन्। भने नेकपा माओवादी केन्द्रकी देविना कार्कीले २ हजार ६५१ मत ल्याएका थिए।
तारकेश्वरमा यसअघि २९ हजार ५०२ मतदाता रहेका थिए भने अहिले यहाँ ३५ हजार ८२ मतदाता रहेका छन्। करिब ६ हजार बढी मतदाता अहिले यहाँका निर्णायक मतदाता हुनेछन्।
दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले तालमेल गरेका छन्। सत्ता गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी एक्लाएक्लै चुनावी मैदानमा छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ। ०७४ मा एक्लै प्रतिस्पर्धामा मेयर र उपमेयर जितेको नेपाली कांग्रेस यसपटक माओवादी केन्द्रको समेत सहयोगमा जितलाई निरन्तरता दिने तयारीमा जुटेको छ।
यसपटक नेपाली कांग्रेसले मोहन बस्नेतलाई नै मेयरमा दोहोर्याएकाे छ। उनी ०७४ मा ४ हजार ६९८ मत ल्याएर विजयी भएका थिए। यहाँ नेकपा एमालेले श्रीराम आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ। भने नेकपा एकीकृत समाजवादीले रामप्रसाद तिमल्सिना जैसीलाई उम्मेदवार बनाएको छ। जसपाले चण्डेराज तामाङ्गलाई उम्मेदवार बनाएको छ।
यसअघिको निर्वाचनमा नेकपा एमालेका शशीशर्मा अर्यालले ४ हजार २६८ मत ल्याएकी थिइन् भने नेकपा माओवादी केन्द्रका सञ्जिब लामाले २ हजार ४८१ मत ल्याएका थिए। उपप्रमुखमा बसन्ती तामाङ नेपाली कांग्रेसबाट ४ हजार ७४९ निर्वाचित भएकी थिइन् भने एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत ल्याएकी थिइन्। नेकपा माओवादी केन्द्रकी कमला शर्मा(बोहरा)ले १ हजार ९३८ मत प्राप्त गरेकी थिइन्।
१५ हजार १७१ मतदाता रहेको दक्षिणकाली नगरपालिकामा अहिले १७ हजार ९१६ जना मतदाता रहेका छन्।
नागार्जुन नगरपालिका
यसअघिको निर्वाचनमा जित हासिल गरेको नेपाली कांग्रेस यसपटकको निर्वाचनमा जित निकाल्ने प्रयासमा छ।
कांग्रेसले यसपटक पनि गत निर्वाचनमा विजयी बनेका मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। यहाँ दलहरु एक्लाएक्लै निर्वाचनमा होमिएका छन्। नेकपा एमालेले यहाँ नन्दनहरि गौतमलाई मेयरको उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले सरस्वती सुनारलाई उम्मेदवार बनाएको छ। नेकपा एकीकृत समाजवादीबाट देवकी भट्टराई चुनावी मैदानमा छिन्।
गत निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ६ हजार ९६१ मत ल्याएर विजयी भएका थिए भने नेकपा एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका कुमार तामाङले १ हजार ६१९ मत ल्याएका थिए।
उपप्रमुखमा एमालेकी सुशीला अधिकारी ६ हजार ८७१ मत प्राप्त गरेर विजयी भएकी थिइन्। नेपाली कांग्रेसकी कल्याणी खड्काले ६ हजार ७९१ मत र नेकपा माओवादी केन्द्रकी देवकी पौडेल भुजेलले १ हजार ७९४ मत प्राप्त गरेका थिए।
नागार्जुनमा गत निर्वाचनमा २६ हजार २४६ मतदाता थिए भने अहिले यहाँ ३१ हजार १८ मतदाता रहेका छन्।
बूढानीलकण्ठ नगरपालिका
०७४ को निर्वाचनमा नेकपा एमालेले यहाँ मेयर र उपमेयरमा जित हासिल गरेको थियो। अहिलेको निर्वाचनमा पनि एमालेले आफ्नो जितलाई निरन्तरता दिने दाबीका साथ चुनावी मैदानमा होमिएको छ।
एमालेले अहिले यस नगरपालिकाबाट मिठाराम अधिकारीलाई मेयरको उम्मेदवारी बनाएको छ। यहाँ दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्। नेपाली कांग्रेसबाट विनोद चालिसे मेयरको उम्मेदवार छन्।
नेकपा माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी र नेकपा एकीकृत समाजवादीबाट वालकृष्ण श्रेष्ठ चुनावी मैदानमा छन्।
यस नगरपालिकामा गत चुनावमा नेकपा एमालेका उद्धवप्रसाद खरेलले १३ हजार २४६ मत ल्याएर निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका राजु श्रेष्ठले ८ हजार ९२७ मत प्राप्त गरेका थिए र नेकपा माओवादी केन्द्रका रविन अधिकारीले ३ हजार ७९० मत ल्याएका थिए।
उपप्रमुखमा एमालेकै रमादेवी राईले १३ हजार १८८ र नेपाली कांग्रेसका सुभद्रा खड्काले ९ हजार ७६८, नेकपा माओवादी केन्द्रकी होमकुमारी दुलाल अधिकारीले ३ हजार ९२ मत प्राप्त गरेका थिए।
यस नगरपालिकामा ४० हजार २१० जना मतदाता यसअघिका निर्वाचन थिए भने अहिले ४८ हजार ३०४ जना मतदाता रहेका छन्।
शंखरापुर नगरपालिका
२०७४ को स्थानीय तहको निर्वाचनमा शंखरापुरमा मेयर र उपमेयर दुवैमा जित निकालेको नेकपा एमालेले यसपटक पनि आफ्नो जितलाई निरन्तरता दिने दाउमा छ।
यस नगरपालिकामा पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ भने अन्य दलहरु एक्लाएक्लै चुनावी मैदानमा छन्।
एमालेले यस नगरपालिकामा कृष्णलाल बजगाईलाई मेयरको उम्मेदवार बनाएको छ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रले मधु केसीलाई मेयरको उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उपमेयरको उम्मेदवार बनाएको छ। नेकपा एकीकृत समाजवादीले लक्ष्मीप्रसाद श्रेष्ठलाई मेयरमा उठाएको छ। गत स्थानीय तह निर्वाचनमा यस नगरपालिकामा नेकपा एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८६९ मत ल्याएर विजयी भएका थिए।
नेपाली कांग्रेसका शंकर तिवारीले २ हजार ९४७ मत ल्याएका थिए भने नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले २ हजार ४३६ मत पाएका थिए। यहाँ राप्रपाका मिजेन्द्रकाजी श्रेष्ठले २ हजार ४६१ मत ल्याएका थिए।
उपप्रमुखमा नेकपा एमालेका शुक्रलक्ष्मी श्रेष्ठ(बसी)ले ५ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मन्जु खड्काले ३ हजार ३०० मत ल्याएका थिए भने नेकपा माओवादी केन्द्रका ईन्द्रकुमारी तामाङले २ हजार ४०० मत ल्याएका थिइन्। शंकरापुर नगरपालिकामा यसअघिको निर्वाचनमा १७ हजार ८७२ मतदाता रहेका थिए यसपटक करिब पाँच हजार मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार उक्त नगरपालिकामा अहिले २२ हजार ५५४ मतदाता रहेका छन्। यहाँ थपिएका मतदाता पनि निर्णायक हुनेछन्
एमालेले जितेको थियो ४७९ पद
काठमाडौं जिल्लामा गत स्थानीय तह निर्वाचनमा एमालेले ७ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख जितेको थियो।
८२ वडा अध्यक्ष, ९३ महिला सदस्य, ८५ दलित महिला सदस्य, १८२ वडा सदस्य, २२ दलित वा अल्पसंख्यक सदस्य गरेर ४७९ जितेको थियो।
दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख सहित ५० वडाध्यक्ष, ३९ महिला सदस्य, दलित महिला सदस्य ४०, अन्य वडासदस्य ८४, दलित वा अल्पसंख्यक ७ सहित २२७ मा जित हासिल गरेको थियो।
नेकपा माओवादी केन्द्रका तर्फबाट २ वडाध्यक्ष, ३ महिला सदस्य, ३ दलित महिला सदस्य, ५ अन्य वडा सदस्य, २ दलित वा अल्पसंख्यक सदस्य सहित १५ जनाले जित निकालेका थिए।
राप्रपाले ४ वडाध्यक्ष, ३ महिला, ३ दलित महिला सदस्य, ५ अन्य वडा सदस्य र २ दलित वा अल्पसंख्यक सदस्य सहित १७ स्थानमा जित हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।